!!Disabled or differently disabled!!

December 5, 2017
The construction of Model integrated housing program in Bhaluwa
December 5, 2017

श्रवण–दृष्टिविहीनका समस्या

मंसिर १५, २०७४-अपांगतामा विविधता हुन्छ । कुनै अपांगता भएका व्यक्ति आत्मनिर्भर भएर जिउन सक्छन् भने कुनै अपांगता भएका व्यक्तिलाई हरपल अरूको सहारा चाहिन्छ । हाम्रा ज्ञानेन्द्रियहरूमध्ये कुनै एउटाले काम गर्न छाड्ने बित्तिकै समस्या सुरु भइहाल्छ । कुनै समस्या केही मात्रामा व्यवस्थापन हुनसक्छन् भने कुनैलाई व्यवस्थापन गर्ने कार्य एकदम चुनौतीपूर्ण हुन्छ । जुनसुकै अपांगतामा जोखिम त हुन्छ, तर त्यसको मात्राचाहिँ थपघट हुनसक्छ । यस्तो खालको जोखिमलाई सामना गरेर अघि बढ्न हामीमा विषय–वस्तुप्रतिको गम्भीरता अत्यन्त जरुरी छ ।

श्रवण दृष्टिविहीन अपांगता व्यवस्थापन गर्न चुनौतीयुक्त अपांगतामध्ये पर्छ । श्रवण दृष्टिविहीन व्यक्तिहरू पूर्ण अशक्त अपांगतामा पर्छन् । उनीहरूले सरकारबाट रातो परिचयपत्र पाउने सुविधा छ । बढीजसो यो अपांगता जन्मजात हुने गर्छ । तर दुर्घटना अथवा रोगको कारण जन्मिएपछि पनि हुने गर्छ । जन्मपश्चात भएको श्रवण दृष्टिविहीन अपांगताभन्दा जन्मजात अपांगता बढी जटिल हुने गर्छ । पहिला देखेका, सुनेका र बोलेका व्यक्तिहरू पुरानो सम्झनाको आधारमा केही मात्रामा भए पनि दैनिक क्रियाकलापमा जन्मजात अपांगता भएका व्यक्तिभन्दा बढी प्रतिक्रिया देखाउन सक्छन् ।

यस्ता व्यक्तिहरू कान सुन्न, आँखा देख्न अनि बोल्न सक्दैनन् । सुनाइ, देखाइ र बोलाइको हिसाबले यसलाई बहुअपांगतामा राख्न मिल्दैन । यसको प्रवृत्तिलाई बुझेर एउटै अपांगतामा वर्गीकरण गरिएको हो । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार प्रत्येक एक हजार मानिसमध्ये एक जनालाई यो अपांगता हुने सम्भावना रहन्छ । यो तथ्याङ्कलाई आधार मान्दा नेपालमा श्रवण दृष्टिविहीन अपांगता भएका मानिस तीस हजार हाराहारी छन् । उनीहरूलाई सिकाउन सकिने एकमात्र भाषा स्पर्श भाषा हो । तातो, चिसो, नरम, कडा, ठोस, तरल आदि हातले छुवाएर अनुभव गराउन सकिन्छ । उनीहरूले दैनिक जीवनमा सम्पन्न गर्ने कार्यहरू जस्तै– खाना खाने, मुख धुने, लुगा लगाउने र खोल्ने, चप्पल लगाउने, दिसा–पिसाब आउँदा, भोक लाग्दा अनि सञ्च नहुँदा सङ्केत गर्ने क्रियाकलापलाई यही माध्यममार्फत तालिम दिन सकिन्छ । यो अपांगता जटिल खालको भएकाले दैनिक कार्यहरू सम्पादन गर्न हरदम एउटा सहयोगी चाहिन्छ ।

श्रवण दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई सीपमूलक, आयमूलक कार्यमा लगाउन पनि छुवाइ नै एकमात्र उपाय हो । जस्तो– उनीहरूलाई बारीमा सब्जी खेती गर्न सिकाउँदा बिरुवा उम्रिएको, बढेको अनि फलेको अवस्थालाई छाम्न दिएर महसुस गराउन सक्छौं । यो कार्यका लागि धेरै मिहेनत र ज्ञान चाहिन्छ । समाजमा भइरहेका क्रियाकलापबारे जानकारी गराउन सम्बन्धित विषयको विज्ञ आवश्यक हुन्छ । नेपालमा श्रवण दृष्टिविहीन अपांगताको लागि दिवासेवा केन्द्र पनि खासै प्रचलनमा छैन । यस किसिमको अवस्था भएका मानिसका अभिभावक यस्ता केन्द्रमा राखेर उनीहरूले पनि केही सिकुन् भन्ने चाहन्छन् । उनीहरू पनि केही हदसम्म आत्मनिर्भर बनुन् भन्ने बारेमा सोचिरहन्छन् । चौबिसै घन्टा निगरानीमा राख्नुभन्दा केही समयका लागि अभिभावकहरू पनि हातमुख जोड्ने चाँजोपाँजो मिलाउन चाहन्छन् ।

संयुक्त राष्ट्र महासंघले अपांगता भएका व्यक्तिहरूप्रति पनि विशेष ध्यान दिएको थियो । अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धिको धारा ९ मा पहँुचयुक्तता, धारा २० मा व्यक्तिगत गमनशीलता, धारा २१ मा विचार अभिव्यक्तिको स्वतन्त्रता र सूचनामा पहँुच भनेर अपांगतालाई मान्यता दिइएको छ । हाम्रो देशमा अपांगता सीमान्तिकृत विषय–वस्तुको रूपमा रहेकाले विगतका दिनमा कुन किसिमको अपांगता भएका व्यक्ति कति छन् भन्ने खासै चासो देखाएको पाइँदैन । अबचाहिँ यसप्रति क्रमश: जनचेतना फैलिँदै जाँदैछ । संयुक्त राष्ट्र संघको अपांगता सम्बन्धी घोषणापत्रका धाराहरूमा आधारित भएर सीबीआर (समुदायमा आधारित पुन:स्थापना) ले अपांगता भएका व्यक्तिलाई उनीहरूको आफ्नो समाजमै स्थापित गर्नलाई प्रभावकारी भूमिका खेल्छ ।

माथि उल्लेखित विषयलाई हामीले ध्यान दिनु अपांगताको परिप्रेक्ष्यमा एकदम अपरिहार्य र सान्दर्भिक छ । श्रवण दृष्टिविहीन गम्भीर खालको अपांगता भएकाले उनीहरूको जीवनस्तर उकास्न र अभिभावकलाई केही हदसम्म भए पनि राहत दिन प्रभावकारी पहलको खाँचो छ । श्रवण दृष्टिविहीन व्यक्तिहरूलाई समाजमा सम्मानित स्थान दिनु हाम्रो मुख्य कर्तव्य हो । मानव अधिकारले भरिपूर्ण जीवन जिउनका लागि तन, मन र वचनले जतिसम्म उनीहरूलाई सहयोग पुर्‍याउन सक्छौं, त्यतिसम्म कन्जुस्याइँ नगरिकन साथ दियौं भने केही न केही परिवर्तन त अवश्य आउनेछ । सबै किसिमका अपांगताको गम्भीरतालाई बुझेर संवेदनशील आत्मिय भावनासहित सहयोगका हातहरू अघि बढाउन सक्दामात्र हामी अपांगता–मैत्री र विशेषगरी श्रवण दृष्टिविहीन–मैत्री संसार निर्माण गर्न सक्छौं ।

प्रकाशित: मंसिर १५, २०७४ http://kantipur.ekantipur.com/news/2017-12-01/20171201070552.html

Comments are closed.