DSC04540
Path towards dignified life for landless Musahar families in Sunsari
June 1, 2017
Lhakpa Tamang
Lhakpa Tamang’s Story to Inclusion: Identity & Livelihood Most Importantly
July 12, 2017

अपांगतामैत्री समाजको खाँचो

Balika-Thapaliya-02062017080510-1000×0

जेष्ठ १९, २०७४- हामीलाई थाहा नै छ, व्यक्ति–व्यक्ति मिलेर परिवार बन्छ । परिवार–परिवार मिलेर समुदाय अनि समाज बन्छ । समाज हाम्रो जीवन स्तरको ऐना हो । अनि समग्रमा हामी मिलेर नै समाजको निर्माण भएको हो । समाज उदाहरणीय छ/छैन भन्ने व्यक्ति र परिवारको संवेदनशीलतामा निर्भर गर्छ ।

समाजलाई सही दिशामा डोर्‍याउन अनेक सूक्ष्म र बृहत तत्त्वले महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । मैत्रीपूर्ण समाजको परिकल्पना र कार्यान्वयन नै असल समाज संरचनाको लागि कोशेढुङ्गा सावित हुनसक्छ । समाजमा रहेका हरेक वर्गलाई समेट्न हाम्रो मनमा मैत्रीपूर्ण भावनाको जागरण हुनु आवश्यक छ । समाजलाई सुन्दर माला बनाउन परिवार–परिवार उस्तै खालका फूल भएर गाँसिँदै आउनुपर्छ ।

अपांगता भएको व्यक्तिको जिन्दगीमा सुधार ल्याउनु सजिलो कार्य होइन । यसका लागि हामीमा अन्तरात्मादेखि नै मैत्रीमय भावनाको जन्म भएमा मात्र अर्थपूर्ण परिवर्तनको नजिक पुग्न सकिन्छ । बालबालिकाको क्षेत्रमा सुधार ल्याउन हामी बालमैत्री बन्नुपर्छ । उनीहरूका समस्या मध्यनजर गरेर सर्वाङ्गीण विकास गर्न हामीमा तन, मन, वचनले उदारवादी भावना जागृत हुनैपर्छ । अझ गरिबीको रेखामुनि परेका, अपांगता भएका बालबालिकाको लागि सकारात्मक विचार राखेर कार्य गर्नु अपरिहार्य छ । बालबालिकामा हुनसक्ने जन्मजात अपांंगता रोकथाम गर्न आमाले टीडी खोप गर्भावस्थामा दुईपटक लगाउनु र गर्भवती भएको ४ महिना लागेपछि, ६ महिनामा, ८ महिनामा र ९ महिना लागेपछि गर्भ जाँच गर्नु अनिवार्य हुन्छ ।

अस्पतालमा बच्चाको जन्म दियो भने बच्चालाई जन्मनासाथ हुनसक्ने धेरै समस्याबाट बचाउन सकिन्छ । बाल्यकालमा हुने क्षयरोग, टिटानस, निमोनिया, दादुरा रुवेला, लहरेखोकी, भ्यागुते रोग, जापानिज इन्सेफलाइटिस, धनुषटङ्कार, हेपाटाइटिस–बी, हेमोफिलस, इन्फलुएन्जा–बी आदि रोगबाट बचाउन बालबालिकालाई जन्मिने बित्तिकै सुरु गरेर ६ हप्ता, १० हप्ता, ९ महिना, १२ महिना हुँदै १५ महिनासम्म खोपको सुविधा प्रदान गर्नुका साथै पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउनु अनिवार्य छ । बच्चा ६ हप्ता, १० हप्ता र १४ हप्ताको हुँदा पोलियो थोपा पनि छुटाउनु हुँदैन । खोप अभियान पनि बाल्यकालमा हुने अपांगताबाट बचाउन छुटाउनै नमिल्ने पाटो हो ।

बच्चालाई कुपोषणबाट बचाउन पोषिलो खानेकुरा खुवाउन जोड दिनुपर्छ । हामी मध्ये धेरैजसो गरिबीको रेखामुनि छौं । यसले कुपोषण निम्त्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । कुपोषण अपांगता निम्त्याउन मुख्य कारकतत्त्व बन्न सक्छ । यसका लागि परिवारले मात्र नभई समाज अनि राज्यले संवेदनशील बन्नुपर्ने हुन्छ । आर्थिक स्थिति कमजोर भएकालाई आय आर्जनमूलक कार्यमा सहभागी हुने अवसर प्रदान गर्नुपर्छ । बाल्यावस्था जीवनको पहिलो खुड्किलो भएकाले जीवनलाई अर्थपूर्ण बनाउन सुरुवातको चरणमै सचेतना अपनाउनुपर्ने हुन्छ । विद्यालय प्रत्यक्ष रूपमा बालबालिकासँग जोडिएको हुनाले उनीहरूले प्रयोग गर्ने डेस्क, बेन्च, धारा, बाटो आदि बालमैत्री अझ अपांगता भएका विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर निर्माण गर्दा उनीहरूलाई शिक्षा आर्जन गर्न सहज हुन्छ ।

अपांगता क्षेत्र हाम्रो समाजका पिछडिएका क्षेत्र मध्येमा पर्छ । अपांगता भएकाहरूलाई हेर्ने हाम्रो नजर विरोधाभासपूर्ण छ । उनीहरूलाई प्रयोग गर्ने गरेको अपमानजनक सम्बोधन अब गर्न पाइने छैन । अपाङ्गता पूर्व जन्मको पाप हो । अपांगता भएका व्यक्तिले समाजमा केही योगदान पुर्‍याउन सक्दैन भन्ने हाम्रो गलत अवधारणा छ । त्यसैले हामीले विभिन्न किसिमका अपांगता भएकाहरूलाई विभिन्न नाम राखिदिएका छौं । उदाहरणका लागि आँखा नदेख्नेलाई अन्धो, कान नसुन्नेलाई बहिरो, खुट्टा लच्काउनेलाई फ्याङ्टो, मानसिक अपाङ्गता भएकालाई बौलाहा अथवा पागल, ओँठ फाटेकोलाई खँुडे, बैसाखी टेक्नेलाई लङ्गडो, हात नहुनेलाई डुँढो, उठेर हिँड्न नसक्ने सुतिरहने समस्या भएकालाई साँपे, होचा व्यक्तिलाई वामपुड्के, बोल्न नसक्नेलाई लाटो, ढाडमा मासु उठेकोलाई कुम्ले आदि । रमेश, रमा भनेझैं उनीहरूको आफ्नै नाम छ भन्ने सोच्दैनौं । कुन शब्दले उनीहरूलाई धेरै सताउन सक्छ, तिनै शब्दमात्र सोचिरहन्छांै र मौका पर्नासाथ मुटुमा प्रहार गरिहाल्छौं । यो काम अत्यन्त अमानवीय छ । अब यस्ता शब्दहरू प्रयोग गर्न नपाइने भनी नियम बनिसकेको छ । कसैलाई पनि कसैको मानहानि गर्ने अधिकार छैन । अर्काको आत्मसम्मानलाई कुल्चिएर जथाभावी बोल्नु मानवता विरुद्धको पाप हो ।

अपांगता भएकाहरू आफूमा रहेको कमजोरीको कारण समाजको सामुन्ने एक्लिएको महसुस गर्छन् । कसैले केही भन्ला कि भनी सामाजिक कार्यमा पनि हिँड्न डराउँछन् । उनीहरूलाई यो पीडाको संसारबाट छुटकारा दिलाउन हाम्रो दृष्टिकोण फराकिलो हुनुपर्छ । उनीहरूलाई देखेर छि:छि: र दूरदूर गर्नुको सट्टा आत्मीय भावनाले प्रेम गर्दा उनीहरूलाई आफू पनि केही गरेर देखाउन आत्मबल प्राप्त हुन्छ । यो व्यक्तिमा अपांगता हुने र त्यो व्यक्तिमा नहुने भनी कतै पनि लेखिएको हुँदैन ।

जिन्दगीको कुनै मोडमा हामी पनि यसको सिकार हुन सक्छौं, जसको कुनै सुनिश्चितता छैन । त्यसैले समुदायमा आधारित पुन:स्थापनाको अवधारणालाई बुझेर जन्मजात अपांगता रोकथाम गर्नुका साथै अपांगता भएकाहरूलाई उनीहरूकै समाजमा सक्षम बनाउन हाम्रो गम्भीरता सहितको कदम उनीहरूका लागि जीवनको सकारात्मक परिवर्तनको आयाम बन्न सक्छ । बुद्धिजीवी वर्गले समाजमा यसबारे जनचेतना फैलाउन प्रभावकारी नेतृत्व गर्न सक्छन् ।

हामी अपांगता भएकाहरूको शत्रु नबनेर उनीहरूको मित्रुको रूपमा उभिन सक्यौं भनेमात्र हाम्रो समाज अपांगताका लागि मैत्रीपूर्ण बन्न सक्छ । मुख्यतया घरको वातावरण भौतिक तथा भावनात्मक रूपमा अपांगतामैत्री हुनुपर्छ र विद्यालय, स्वास्थ्य संस्था, सार्वजनिक ठाउँ, बाटोघाटो, धार्मिक स्थल पनि यही विचारमा आधारित हुनुपर्छ । अपांगता भएकालाई अवरोध गर्ने तत्त्वहरूलाई अनुसन्धान गरेर कसरी सहजीकरणको स्थिति सिर्जना गर्न सकिन्छ भन्ने परिकल्पनाले अपांगतामैत्री समाज रचना गर्न सहयोग पुग्छ ।

This article was written by our Community Based Rehabilitation Facilitator Ms. Balika Thapaliya,  published on Kantipur

Comments are closed.